बलात्कार घटनाका फरार आरोपितहरू गिरफ्तार

  ०७५ मङ्सिर २७ गते

२० वर्षीया महिलालाई बलात्कारपछि हत्या प्रयास गरी फरार रहेका गोदावरी नगरपालिका-१ का ३२ वर्षीय रघु सिलवाल, सोही ठाउँका २१ वर्षीय पवन कुँवर र २० वर्षीय विशालध्वज कार्कीलाई मङ्सिर २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितहरूले ०७४ मङ्सिर २ गते बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले आरोपितहरूलाई गिरफ्तार गरेको जनाइएको छ ।

पीडितका परिवारले बलात्कारपछि ज्यान मार्ने उद्योग गरेको भन्दै ०७४ मङ्सिर ६ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

मङ्सिर ६ गते परेको उजुरीलाई प्रहरीले अदालत पेश गरेपछि जिल्ला अदालत ललितपुरले पुस २६ गते साधारण तारेखमा छोड्ने आदेश दिएको थियो भने उच्च अदालतले आरोपितहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता शेखर खनालले बताए ।

जिल्ला अदालतको आदेशसँगै फरार भएका आरोपितहरू उच्च अदालतको आदेशपछि प्रहरीले खोजी गरिरहेकोमा झण्डै एक वर्षपछि भए पनि गिरफ्तार पर्नुले पीडितलाई न्याय मिल्नेमा आशावादी भएको अधिकारकर्मी गङ्गादेवी मूलले बताइन् ।

आरोपित सिल्वाललाई महानगरीय प्रहरी वृत्त सातदोबाटोको प्रहरी हिरासतमा राखिएको छ भने अन्य दुईजना आरोपितलाई महानगरीय प्रहरी वृत्त टेकुमा राखिएको महानगरीय प्रहरी वृत्त रातदोबाटोका डिएसपी गौतम मिश्रले जानकारी दिए ।


दीपकप्रसाद घिमिरे