बलात्कार घटनाका फरार अभियुक्त १३ वर्षपछि गिरफ्तार

  ०७६ माघ २९ गते

२५ वर्षीया महिलालाई १३ वर्ष अघि बलात्कार गरेको आरोपमा फरार रहेका हनुमाननगर कंकालिनी नपा–११ इनरुवाका ५० वर्षीय हरीनारायण यादवलाई सप्तरी प्रहरीले ०७६ माघ २९ गते गिरफ्तार गरेको छ ।

photo20200212saptari
सर्वोच्च अदालतबाट २०७६ जेठ १ गते भएको फैसला बमोजिम पाँच वर्ष कैदसजाय पाएका आरोपित  यादवलाई घरबाट गिरफ्तार गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराउने तयारी भईरहेको डिएसपी तिलक भारतीले बताउनु भयो ।

सुनसरीको इनरुवामा ज्याला मजदुरी गरी दशैंमा सप्तरीको हनुमाननगरको बाटो हुँदै तिलाठी कोइलाडी गाउँपालिका–५ को बर्साइनस्थित घर फर्किरहेका बेला ०६४ असोज २९ गते राति आरोपित हरीनारायण र सोही ठाउँका दुधियावाला भनिने खटर यादवले हनुमाननगर कुनौली सडकमा पर्ने कोशी बाँधमा हतियार देखाई ज्यान मार्ने धम्की दिई बलात्कार गरेको र साथमा रहेको १० हजार रुपियाँ लुटेको पीडित पक्षले बताएको छ । बलात्कार गरेको र साथमा रहेको १० हजार रुपिँया लुटेको भनी जिल्ला प्रहरी कार्यालयमा पीडितले ०६४ असोज ३० गते उजुरी दिनु भएको थियो । उजुरीमा पीडितका श्रीमानलाई खटरले नियन्त्रणमा लिई साथमा रहेको १० हजार लुटेको तथा हरीनारायणले धानबारीमा लगेर पीडितलाई बलात्कार गरेको उल्लेख छ ।

पीडितको सगरमाथा अञ्चल अस्पताल राजविराजमा ०६४ असोज ३० गते स्वास्थ्य परिक्षण भएको थियो ।

सप्तरी जिल्ला अदालतले तत्कालै गिरफ्तार हरीनारायणलाई जबरजस्ती करणी र रहजनी चोरी मुद्दामा ०६५ चैत ११ गते एक वर्ष ६ महिनाको कैद र फरार रहेका खटरको हकमा मुद्दा मुल्तबी राख्ने फैसला गरेको थियो । भारतको पञ्जाबमा मजदुरी गरिरहेकोले आफूले घटना गराएको होइन भनी ०६७ असार १७ गते खटर जिल्ला अदालतमा हाजिर भई वयान दिएकोमा सप्तरी जिल्ला अदालतबाट २०६७ फागुन १२ गते शङ्कारहित प्रमाणको अभावमा खटरलाई सफाई दिने फैसला गरेको थियो ।

आरोपित हरीनारायणलाई जिल्ला अदालतबाट भएको दावी भन्दा कम र खटरलाई सफाई दिने फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग माग दावी बमोजिम सजाय गरी पाउँ भनी पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परेकोमा पुनरावेदन अदालतले ०७१ मङ्सिर २९ गते हरीनारायणलाई पाँच वर्ष कैद र पाँच हजार क्षतिपूर्ति भराउने तथा खटरलाई एक वर्ष ६ महिना कैद सजाय गर्ने फैसला गरेको थियो ।

उक्त फैसला विरुद्ध ०७३ चैत २५ गते हरीनारायणले सर्वोच्च अदालतमा एक वर्ष चार महिना भन्दा बढी थुनामा बसिसकेकाले अब किन पुनरावदेन गर्ने र आर्थिक परेशानी उठाउने भनी पुनरावेदन नगरेको अवस्थालाई कसूरदार हो भनी पुनरावेदन अदालतले अन्यथा तर्क लगाई कसूरमा झन् मुख्य कसूरदार ठहराई गरेको फैसला अन्यायपूर्ण भएकोले सफाई पाउने माग गर्दै पुनरावेदन गरेका थिए । यस्तै जिल्ला अदालतको सफाई दिने फैसला न्यायपूर्ण र पुनरावेदन अदालतले कसुरदार ठहराई गरेको फैसला आधारहिन छ भनी खटरले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दिपककुमार कार्की र न्यायाधीश डम्बरबहादुर शाहीको ०७६ जेठ १ गतेको संयुक्त इजलाशले पुनरावेदन अदालत राजविराजबाट आरोपितहरू हरीनारायण र खटरलाई गरेको कैदसजायको फैसला मिलेकै देखिदा फैसला सदर हुने ठहर गदै अन्तिम फैसला गरेको छ । फैसलापछि फरार रहेका आरोपित हरीनारायणलाई गिरफ्तार गरिएको र फरार रहेका खटरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

स्वास्थ्य परिक्षण गर्ने चार जना चिकित्सकको टोलीले पीडितको स्वास्थ्य परिक्षण गर्दा दुई दिन भित्र बलात्कार भएको भनी छुट्टाछुट्टै बकपत्र समेत गरेका छन् । स्वास्थ्य परिक्षण प्रतिवेदनमा पीडितको शरिरमा चोटपटक लागेको देखिएको छ । सर्वोच्च अदालतले फैसलामा पीडितको यौनाङ्गको दुबै पट्टी निलडाम देखिएको, घटनस्थलको धानका बोट र गाभाहरू भाँचिएको, मडारिएको, मानिस सुतेको निशान देखिएको, माटोमा खोस्रिएको दाग देखिएको र पीडितसँग दुई दिनभित्र बलात्कार भएको भनी चिकित्सकले स्वास्थ्य परिक्षण प्रतिवेदन दिएकाले बलात्कार भएको तथ्य स्थापित भएको उल्लेख गर्दै पुनरावेदनको फैसला सदर गरेको छ ।


मनोहरकुमार पोखरेल