बलात्कार घटनाका दोषी ११ वर्षपछि गिरफ्तार

  ०७७ कात्तिक २७ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतबाट दोषी ठहर भई पाँच वर्ष दुई महिना १९ दिन सजाय तोकिएपछि फरार भएका कसुरदारलाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको छ ।

बलात्कार मुद्दामा सर्वोच्च अदालतको फैसलापछि फरार भएका चौदण्डीगढी नगरपालिका –१० का ४० वर्षीय नारायणबहादुर राउतलाई प्रहरीले गिरफ्तारपछि कात्तिक २७ गते कारागार चलान गरेको छ ।

जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत)बाट सफाइ पाएका कसुरदारलाई १४ वर्षीया बालिकालाई ०६० वैशाख २३ गते बलात्कार गरेको कसुरमा कारागार चलान गरिएको हो । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले कात्तिक २६ गते राउतलाई गिरफ्तार गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाएपछि अदालतले कात्तिक २७ गते पाँच वर्ष दुई महिना १९ दिनका लागि कारागार पठाएको तहसिलदार राजकुमार आचार्यले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश राजेन्द्रप्रसाद कोइराला र प्रकाश वस्तीको संयुक्त इजलासले ०६६ जेठ ११ गते कसुर ठहर गर्दै सात वर्ष कैद सजायको फैसला सुनाएकोमा प्रहरी हिरासत र पुर्पक्ष गरी एक वर्ष नौ महिना ११ दिन कारागार जीवन विताइसकेकाले बाँकी समयका लागि कारागार पठाउने फैसला भएको छ ।

कसुरदारलाई जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले ०६१ फागुन ५ गते र पुनरावेदन अदालतका तत्कालीन न्यायाधीश कोमलनाथ शर्मा र गौरीबहादुर कार्कीको संयुक्त इजलासले ०६२ भदौ २८ गते सफाइ दिएको थियो । प्रहरीको अनुसन्धान र जिल्लाको फैसलालाई आधार मान्दै पुनरावेदनले जिल्लाको फैसलालाई नै सदर गरेको गरेको थियो ।

जिल्ला र पुनरावेदनको फैसलासँगै सरकारी वकिलको कार्यालय फैसला त्रुटीपूर्ण रहेको भन्दै पुन ः विचारको माग गर्दै सर्वोच्च पुगेको थियो । सरकारी वकिलको जिरह अनुसार सर्वोच्चले कसुरदारले कसुर स्वीकार गरेको अवस्थामा पीडित पक्ष अभाव र प्रभावमा परेर बयान सच्याउँदा समाजमा अपराधका घटनाले प्रशय पाउने भन्दै राउतलाई दण्डित गरेको बयानमा उल्लेख छ ।

कसुरदारविरूद्ध पीडित पक्षले ०६० वैशाख २४ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २४ गते भएको थियो । सर्वोच्को फैसलासँगै कसुरदार साँढे ११ वर्षदेखि लुकिछिपी बस्दै गरेका थिए ।


भरत खड्का