बलात्कार घटनाका आरोपित हिरासतमा मृत, आत्महत्या गरेको प्रहरीको दावी

  ०७६ चैत २२ गते 

इलाका प्रहरी कार्यालय पिपराको हिरासतमा कक्षमा रहेका ३८ वर्षीय एक जना चैत २० गते  झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालयले उनले आत्महत्या गरेको जनाएको छ ।

१७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १८ गते गिरफ्तार गरेको थियो । मृतकले शौचालयको भन्टिलेशनमा  तन्ना प्रयोग गरेर आत्महत्या गरेको इन्स्पेक्टर  आयुषप्रसाद जोशीले बताउनु भयो  ।

जिल्ला प्रहरी कार्यालय तौलीहवाबाट डिएसपी  सुनिल मल्लको नेतृत्वमा आएको टोलीले स्थानीय जनप्रतिनिधि, मानवअधिकारकर्मी,सञ्चारकर्मी,स्थानीय बुद्धिजिवी र मृतकका आफन्तहरू समेतको रोहवरमा  पोष्टमार्टमकालागि शव जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।

मृतकका आफन्तले प्रहरी हिरासतमा नियोजित तरिकाले हत्या भएको आशङ्का गरेपनि उजुरी कहि दिएका छैनन् । झुण्डिएको आवस्थामा भुई  टेकेको भएकोले हत्या भएको हुन सक्ने भन्दै आफन्तले आशङ्का व्यक्त गरेका थिए ।

शवको पोष्टमार्टम चैत २१ गते जिल्ला अस्पताल, तौलिहवामा गरिएको प्रहरीले जनायो ।

 

 


पार्वती आचार्य