बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

  ०७७ मङ्सिर ५ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले बुटवल उपमनपा–११ का २२ वर्षीय अमृत श्रेष्ठ विरूद्ध मङ्सिर ३ गते इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

पीडितलाई आरोपितले कात्तिक १६ गते बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिएको पीडितले बताउनु भयो । घटनाका विषयमा दिदीलाई भने पछि घटना बाहिर आएको थियो  ।

पीडितपक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

यसैगरी, ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले सम्मरीमाई गाउँपालिका–६ का २६ वर्षीय जोगेन्द्र केवट विरूद्ध मङ्सिर २ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दर्ता गराएका छन् ।

पीडितलाई आरोपितले कात्तिक ११ गते यौन दुर्व्यवहार गरेको पीडितकी आमालाई बताएपछि घटना बाहिर आएको थियो ।

पीडितपक्षले दिएको उजुरीका आधारमा बलात्कार प्रयास मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, मर्चवारका इन्स्पेक्टर अमृत भण्डारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १४ गते भीम अस्पताल, भैरहवामा गरिएको छ  ।


रीमा बिसी