बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

  ०७७ जेठ १७ गते

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रुपनी गाउँपालिका–१ रुपनीका २९ वर्षीय सदाम मियाँविरुद्ध पीडित महिलाले जेठ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
काखमा ११ दिनको शिशु र पतिसहित जिल्ला प्रहरी कार्यालय आउनु भएकी पीडितले उजुरी दिनु भएको र आवश्यक अनुसन्धान थालेको इन्स्पेक्टर बाबुराम कार्कीले बताउनु भयो । घरमा संरक्षक अभिभावक कोही नरहेका बेला ०७६ भदौ १, ३ र ४ गते घरमा प्रवेश गरी स–साना नाबालक छोराछोरीको ज्यान मार्ने धम्की दिई बलात्कार गरेको पीडितले बताउनु भयो ।
बलात्कारको कारण गर्भवती बन्नु भएकी पीडितले जेठ ५ गते युनिक अस्पताल प्रा.लि. रुपनीमा छोरीको जन्म दिनु भएको छ । उहाँका पति वैदेशिक रोजगारका लागि कतारमा हुनु हुन्थ्यो । कतारबाट घर फर्किए पछि आपसी सल्लाह गरेर उजुरी दिएको उहाँका पतिले जानकारी दिनु भयो ।
हाल आरोपित कतारमा छन् । आरोपितलाई कतार राजदुतावासमार्फत इन्टरपोलको सहयोगमा गिरफ्तार गरी कानून बमोजिम कारवाही गर्न पीडितले माग गर्नु भएको छ । घटना भदौ महिनामा भए पनि पीडितले बलात्कारका कारण गर्भवती भएको र छोरी जन्मिएको प्रमाण पेश गरेकाले छुट्टै स्वास्थ्य परीक्षण गर्न आवश्यक नभएको प्रहरीले जनाएको छ ।


मनोहरकुमार पोखरेल