बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

  ०७६ असार २६ गते

१२ वर्षीया बालिकालाई १७, १५, १७ र १२ वर्षीय बालकहरूले सामूहिक बलात्कार गरेको भन्दै परेको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपले असार २५ गते दर्ता गरेको छ ।

पीडितकी आमाले असार २४ गते दिएको उजुरी र पीडित बालिकाको बयानपछि पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरी उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्राले बताए । चारै जना आरोपितहरू फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी मिश्राले बताएका छन् ।

आरोपितहरू गाउँटोलकै भएको र त्यसमध्ये एक जना पारिवारिक सदस्यभित्रको नातामा दाजु पर्ने व्यक्ति भएकाले गाउँमै मिलाउने भन्दै दबाब आएपछि समयमै निर्णय गर्न नसक्दा प्रहरीसमक्ष उजुरी गर्न ढिलो भएको पीडितकी आमाले बताइन् ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ भुडकी सितापुरस्थित जङ्गलमा गाईबस्तु चराउन गएका बेला असार १८ गते पीडितलाई चारजना आरोपितहरूले बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छन् ।


मनोहरकुमार पोखरेल