बलात्कार घटनाका आरोपित मेडिकल सञ्चालक गिरफ्तार

  ०७७ वैशाख २५ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फतुवाविजयपुर—४ बस्ने अर्जुन मेडिकल हल विजयपुरका सञ्चालक ५२ वर्षीय डा.टेकबहादुर चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपित चौधरीले ०७६ माघ २८ गते र त्यसभन्दा पहिले पटक—पटक गरी चार पटक बलात्कार गरेको आरोपमा ०७७ वैशाख २३ गते राती ९:०० बजे पीडितकी आमाले ईलाका प्रहरी कार्यालय विजयपुरमा उजुरी दर्ता गराउनु भएको छ ।

सोही दिन राती आरोपित आफ्नै घरबाट गिरफ्तार भएका छन् । चौधरीले बालिकाको बलात्कार गरेको लिखित उजुरी आएपछि मुद्दा दर्ता गरीएको ईलाका प्रहरी कार्यालय विजयपुरका इन्स्पेक्टर चन्द्रकिशोर साहले जानकारी दिनु भएको छ ।

जबरजस्ती करणीमुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत गौरले सात दिनको म्याद दिएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ ।

पीडित बालिकाको ०७७ वैशाख २४ गते सरकारी अस्पताल चन्द्रनिगहापुरमा स्वास्थ्य परीक्षण भएको र पीडित बालिका चार महिना पुरा भएर पाँच महिनाको गर्भवती रहेको स्वास्थ्य परीक्षण रिपोर्ट आएको ईलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।


कोपिला तिमल्सिना