बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ १५ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नपा–४ का २२ वर्षीय आसमान निरालेलाई भदौ १४ गते गिरफ्तार गरेको छ ।

नाम, ठेगाना बताउन नसकेकी पीडितले तस्विर पहिचान गरेको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खडकाले बताए ।

इन्सेक सप्तरी प्रतिनिधिको कार्यालयमा भदौ १३ गते पीडितसहित आएकी उनकी आमाले इन्सेकको पहलमा भदौ १३ गते नै आरोपितको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले तीव्रताका साथ खोजतलास गरेको थियो ।

पीडित बालिकालाई आरोपितले भदौ १२ गते राति ७ बजे पैदल घर फर्किरहेकी बालिकालाई नशालु पदार्थ मिसिएको फ्रुटी खान दिएर बेहोस बनाई राजविराजको सहिद दशन चोकबाट बैष्णवी काली मन्दिर नजिक रहेको कल्टु दास पोखरी छेउमा लगेर बलात्कार गरेको स्वीकारेका छन् ।

आरोपितले भदौ १२ गते राति १२ बजे घर नजिकै ल्याएर पीडितलाई छाडेपछि पीडितले घटनाबारे आमालाई बताएकी थिइन् ।

विक्षिप्त अवस्थामा रहेकी बालिकाले आरोपितको नाम, ठेगाना बताउन नसकिरहेका बेला सम्भावित व्यक्तिहरूको तस्विर र फेसबुकबाट पीडितले पहिचान गरेपछि आरोपितलाई घरबाटै गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १३ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ ।


मनोहरकुमार पोखरेल