बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भादौ ७ गते

बोल्न नसक्ने १६ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाधाम नपा–३ का २० वर्षीय सुनिल मण्डल र १८ वर्षीय इन्दल मण्डललाई भदौ ६ गते गिरफ्तार गरेको छ ।

भदौ ५ गते राति करिब १० बजेको समयमा बालिकालाई गाउँबाट अपहरण गरी आरोपितहरूले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

पीडित पक्षले भदौ ६ गते इलका प्रहरी कार्यालय धनुषाधाममा दिएको उजुरीका आधारमा बलात्कार घटनाको आरोपमा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो ।

बोल्न नसक्ने ती बालिकालाई नजिकै रहेको सबैला नपा–५ मखनाहामा लगेर बलात्कार गरेको आरोप जाहेरीमा उल्लेख गरिएको इलका प्रहरी कार्यालय धनुषाधामका इन्स्पेक्टर सुमन थापाले जनाएको छ ।

बलात्कारको आरोपमा गिरफ्तार भएका दुवै जनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ६ गते जनकपुर अञ्चल अस्पतालमा गराइएको प्रहरीले जनाएको छ ।


अजयकुमार साह