बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन २८ गते

१४ वर्षीया बालिका बलात्कारका आरोपित शम्भुनाथ नपा-२ कुशहाका ४० वर्षीय मो. समिर अख्तरलाई प्रहरीले साउन २७ गते गिरफ्तार गरेको छ ।

पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले ०७५ चैत ११ गते उजुरी दर्ता गरेकोमा साउन २७ गते समिरलाई घरबाटै गिरफ्तार गरी साउन २८ गते अदालतबाट म्याद थप गरिएको सप्तरी प्रहरीले जनाएको छ । अर्का आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितद्वयले ०७५ चैत १० गते मुखमा कपडाले बाँधेर बलात्कार गरेको र चैत ११ गते राजविराजस्थित सागर लजमा लगेर बलात्कार गरेर फरार भएको पीडितले बताएकी छिन् ।

पीडित बालिकाका अनुसार नामथर थाहा नभएका अर्का युवकले भने मोटरसाइकलमा ल्याउन र लैजान सहयोग गरेका थिए ।

पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चैत ११ गते गरिएकोको थियो ।


मनोहरकुमार पोखरेल