बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार २१ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रे जिल्ला पाँचखाल नगरपालिका–५, घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा बस्ने २० वर्षीय निशान अधिकारीलाई असार २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १८ गते साँझ ग्वार्कोबाट घरमा पुर्‍याइ दिने भन्दै आफ्नै कोठामा लगेर बन्धक बनाई बलात्कार गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रले बताए ।

पीडित बालिकाकी आमाले असार १८ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बालिका हराएको मौखिक उजुरी दिएकी थिइन् भने असार १९ गते छोरी फेला परेको र बलात्कृत भएको उजुरी दिएपछि आरोपितको खोजी गरेको प्रहरीले जनाएकोे छ ।

असार १८ गते राति नै कोठा छोडेर फरार भएका आरोपितलाई असार २० गते गिरफ्तार गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १९ गते पाटन अस्पतालमा गरिएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे