बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार ६ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला बागेश्वरी गाउँपालिका–३ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा बस्ने १९ वर्षीय वीरेन्द्र कोलीलाई असार ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ३२ गतेदेखि असार ३ गतेसम्म बन्धक बनाएर बलात्कार गरी फरार रहेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असार ४ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको उक्त वृत्तका डिएसपी गौतम मिश्रले बताए ।

पीडित बालिका जेठ ३२ गते हराएको भन्दै पीडितका परिवारले सोही दिन महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएकाले उक्त उजुरीको आधारमा बालिकालाई निरन्तर खोज्ने क्रममा असार ३ गते आरोपितकै कोठामा बन्धक बनाइराखेको आवस्थामा फेला पारिएको डिएसपी मिश्रले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ४ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे