बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ वैशाख ३१ गते

सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई भारतको नयाँ दिल्लीमा १० हजार भारतीय रुपियाँमा जागिर लगाइदिने, मिठो खान लाउन दिने र गरगहना लगाउन पाउने भन्दै फकाईफुल्याई सर्लाहीको नयाँरोडमा लगि एक होटलमा बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

प्रहरीले वैशाख ३० गते सर्लाहीको हरिवन नगरपालिका-१० धरहराका ४५ वर्षीय ज्ञानबहादुर थिङ र हरिवन नपा-१० नयाँरोडमा रहेको विशालबावा होटलका सञ्चालक ३७ वर्षीय नारायणराज उप्रेतीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विनोद शर्माले बताए ।

प्रहरीका अनुसार घटनामा संलग्न सर्लाहीकै हरिवन नपा-१० का ३५ वर्षीय कुमार लामा र उनकी ३७ वर्षीया पत्नी माया लोप्चन फरार रहेका छन् ।

प्रहरीका अनुसार पीडित पक्षले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लिखित उजुरी दिएको र वैशाख ३० गते रितपूर्वक उजुरी दर्ता गराएको छ ।

पीडित पक्षका अनुसार बालिकालाई हरिवन नपा-१० धरहरा घर भएकी ३७ वर्षीया माया लोप्चन र उनका पति कुमार लोप्चनले गाउँमै आई ललाईफकाई भारतमा जागिर लगाइदिन्छु भनी अपहरण गरेर लगेको र हरिवन नपा-१० मा लगि ज्ञानबहादुर थिङको जिम्मा लगाएका थिए ।'

ज्ञानबहादुरले विशालबाबा होटलमा लगि वैशाख १७ गतेदेखि २५ गतेसम्म सामूहिक रूपमा दिनहुँ बलात्कार गरेको र अन्य मानिसहरूलाई समेत बलात्कार गर्न लगाएको प्रहरीको आरोप छ ।

सामूहिक बलात्कारपछि पीडितको शारिरीक अवस्था कमजोर भएपछि आरोपितले होटलबाट निकालिदिएको र सडकमा अलपत्र अवस्थामा स्थानीय अर्थमान वाईवाले फेला पारी प्रहरीको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।


बिमला पाण्डे