बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ २९ गते

२५ वर्षीया महिलालाई ०७७ मङ्सिर २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला चापाकोट नगरपालिका–९ साखर घर भई हाल कावासोती नगरपालिका–३ का ५२ वर्षीय भगवत भट्टराईलाई गिरफ्तार गरेको छ ।

घटनामा सलंग्न बारा जिल्ला पचरौता नगरपालिका–९ कुडँवाका १९ वर्षीय सन्दिप कुमार यादव र १९ वर्षीय शरद प्रसाद यादवलाई प्रहरीले ०७७ मङ्सिर २३ गते गिरफ्तार गरेको थियो भने घटनापछि फरार रहेका आरोपित भट्टराईलाई माघ २८ गते गिरफ्तार गरिएको छ ।

पीडितलाई आरोपितहरूले सामुहिक बलात्कार गरेको आरोपमा पीडितले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मङ्सिर २३ गते मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सब–इन्स्पेक्टर टिकाराम पोखरेलले बताउनुभयो ।

आरोपितलाई प्रहरीले माघ २८ गते नवलपुर जिल्ला अदालतमा पेश गरेर सोही दिन पुर्पक्षको लागि थुनामा पठाएको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २३ गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको थियो ।


तिर्थराज डुम्रे