बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ १२ गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका ३३ वर्षीय कृष्ण विकलाई माघ ९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर डाक्टर प्रसाद चौधरीले बताउनुभयो ।

पीडित पक्षले घटना बारे माघ ९ गते थाहा पाएकोले घटना बाहिर आउन समय लागेको पीडित पक्षको उजुरीमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।

पीडितकाे स्वास्थ्य परीक्षण माघ ९ गते  बेनी अस्पतालमा गरिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो ।

आरोपितलाई जिल्ला अदालत म्याग्दीबाट जबरजस्ती करणी कसुर शीर्षकमा माघ ११ गते म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता प्रकाश कोइरालाले बताउनुभयो ।


अमृतप्रसाद पौडेल