बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक ८ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छिन्नमस्ता गाउँपालिका–३ सखडाका २१ वर्षीय अब्दुल मियाँलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ ।

बजारबाट घर फर्किरहेको बेला पछाडिबाट मुख थिची झाडीमा लगेर असोज १३ गते बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असोज २७ गते उजुरी दिएपछि असोज २८ गते पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको छ ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महदेवा गाउँपालिका–३ बलिया बथनाहाका ५२ वर्षीय कपलेश्वर सरदार र ४८ वर्षीय बिन्देश्वर सरदारलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितहरूले असोज ३० गते बिहान बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले कात्तिक ४ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् ।

‘मर्निङ्ग वाक’ मा निस्किएका बेला घरदेखि ३ सय मिटर उत्तर परालको टाल भएको बारीमा आरोपितहरूले नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।

बलात्कार प्रयासको आरोपमा उजुरी दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कात्तिक ४ गते गरिएको छ ।

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कंकालनी नपा–१३ का ३५ वर्षीय आजाद मन्सुरीविरुद्ध आरोपमा जिल्ला प्रहरी कार्यालयले कात्तिक ५ गते उजुरी दर्ता गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन १९ गते बलात्कार गरेको पीडितले बताइन् । पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा असोज २६ गते आरोपितविरुद्ध उजुरी दिएकी थिइन् ।

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्षेत्र जिल्ला प्रहरी कार्यालयमा कात्तिक ५ गते सो उजुरी दर्ता गरेको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा असोज २७ गते गरिएको छ । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


मनोहरकुमार पोखरेल