बलात्कार घटनाका आरोपित गिरफ्तार

   ०७७ कात्तिक ४ गते

सुस्त मनस्थिति भएकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यविन्दु नगरपालिका–८ का ३० वर्षीय गर्भलाल महतोलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक ३ गते साँझ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा मौखिक उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सब–इन्स्पेक्टर टिकाराम पोखरेलले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ३ गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको छ ।

त्यस्तै एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यविन्दु नगरपालिका–९ का २८ वर्षीय मोहन पुनलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएका थिए ।

आरोपितले डरघम्की देखाएको कारण घटना बाहिर आउन समय लागेको र पीडित पक्षको उजुरीपछि आरोपितलाई कात्तिक ३ गते गिरफ्तार गरी घटनाको अनुसन्धान थालिएको सब–इन्स्पेक्टर टिकाराम पोखरेलले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २९ गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको थियो ।


तिर्थराज डुम्रे