बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज २५ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका–३ का २४ वर्षीय रनबहादुर खवासलाई असोज २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७६ पुस १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७७ असोज २३ गते इलाका प्रहरी कार्यालय आठराईमा उजुरी दिएको थियो ।

बलात्कारपछि गर्भवती भएकी बालिकाकाले असोज ५ गते आठराई गाँउपालिका–३ तेलिङस्थित आधारभूत विद्यालयमा बच्चा जन्माएर हत्या गरी नजिकको जङ्गलमा फालेपछि घटना सार्वजनिक भएको थियो ।

स्थानीयले असोज ५ गते नवजात शिशु मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको खबरपछि घटनाका विषयमा अनुसन्धान गर्दा बलात्कारपछि गर्भवती भएकी बालिकाले शिशुको हत्या गरेको खुलेपछि बालिकालाई असोज ५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बालिकाले आरोपितको बारेमा असोज २३ गते प्रहरीलाई सूचना दिएपछि पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको र आरोपितलाई गिरफ्तार गरेको डिएसपी थापाले बताउनु भयो ।

नवजात शिशु हत्यामा आरोपितबालिकालाई कर्तव्य ज्यान मुद्दा शीर्षकामा असोज ५ गते र बलात्कार घटनाका आरोपितविरूद्ध जिल्ला अदालतमा असोज २३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको डिएसपी थापाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज ५ गते गरिएको छ ।


भगिश्वर लिम्बू