बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ असार ८ गते

२७ वर्षीया महिलालाई सामहिक बलात्कार गरेको आरोपमा प्रहरीले सरुमारानी गाउँपालिका-३ का २३ वर्षीय गनबहादुर गुरुङलाई असार ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितहरूले जेठ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ६ गते प्रहरी समक्ष उजुरी दिएको थियो ।

पीडित पक्षले सरुमारानी गाँउपालिका-३ का २३ वर्षीय गनबहादुर गुरुङ, सोही ठाउँका २६ वर्षीय युगबहादुर गुरुङ र २४ वर्षीय मङ्गलसिंह गुरुङले बलात्कार गरेको भन्दै प्रहरी चौकी बड्डामा उजुरी दिएको इलाका प्रहरी कार्यालय बिजुवारका इन्स्पेक्टर गोवर्धन थापाले बताए ।

घटनामा संलग्न व्यक्तिको डर/धम्कीका कारण प्रहरी कार्यालयमा उजुरी आउन ढिलो भएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका आरोपितद्धय युगबहादुर र मङ्गलको खोजी भइरहेको इन्स्पेक्टर थापाले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बिजुवारमा असार ६ गते भएको प्रहरीले जनाएको छ ।


रविन्द्र पाण्डे