बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ २९ गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ ।

विवाहको प्रलोभन दिई आरोपितले ०७६ मङ्सिर २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा ०७६ पुस १२ गते उजुरी दिएको थियो ।

घटनापछि फरार भएका आरोपितलाई सप्तरी प्रहरीले सिरहाको धनगढीमाई नपा–२ धनगढास्थित मामाघरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीका इन्स्पेक्टर रामराजा केशरीले जानकारी दिनु भयो ।

इलाका प्रहरी कार्यालय कडरबोनाले पुस १२ गते उजुरी दर्ता गरी सोही दिन पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।

घटनापछि गाउँघरमै छलफल गरी मिलाउने प्रयास असफल भएपछि ढिलो गरी उजुरी आएकाले तत्काल आरोपित गिरफ्तार नभएपनि नौ महिनापछि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर केशरीले बताउनु भयो ।

आरोपितले भने पीडितले बोलाएर कोठामा सँगै बसिरहेका बेला बाहिरबाट उनका परिवारका सदस्यहरूले चुकुल लगाएर झुठो हल्ला फैलाएको र विवाहका लागि दिएको दबाब नमान्दा झुठो उजुरी गरेको बताएका छन् ।


मनोहरकुमार पोखरेल