बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ जेठ २३ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा-१८ का ५५ वर्षीय बैजनाथ चौधरीलाई जेठ २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २२ गते प्रहरीमा उजुरी दिएको थियो ।

बलात्कारपछि बेहोस भएकी बालिका रातभर घर नजिकैको जङ्गलमा रहेको र बिहान मात्रै उनी घर आइपुगेपछि घटनाका बारेमा थाहा पाएको पीडितकी आमाले बताइन् ।

पीडित बालिकालाई आरोपितले यौन शोषण गर्दै आएको र बाहिर लगे ज्यान मारिदिने धम्की पटक पटक दिँदै आएको समेत बालिकाले आरोप लगाइन् ।

इलाका प्रहरी कार्यालयमा पीडित परिवारले जेठ २२ गते उजुरी दिएपछि सोही दिन राति लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गरिनुका साथै उपचारका लागि भर्ना समेत गरिएको छ ।

यसै सन्दर्भमा घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय लहानमा जेठ २२ गते अधिकारकर्मी तथा सञ्चारकर्मीहरू जाँदा इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले दुर्व्यवहार गरेको अधिकारकर्मीहरूले जनाएका छन् ।


दुर्गा परियार