बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १२ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार भएका त्रियुगा नगरपालिका –३ का २० वर्षीय सञ्जय सदालाई प्रहरीले असार ११ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०७४ कात्तिक २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७४ मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितविरूद्ध मङ्सिर ३ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको ०७५ वैशाख ११ गतेको इजलासले सफाई दिएपछि आरोपित फरार भएका थिए ।

सोही मुद्दामा पुनः कारबाही गर्दै उच्च अदालतका न्यायाधीश गणेशप्रसाद बराल र शालिकराम कोइरालाको संयुक्त इजलासले ०७६ जेठ २७ गते आरोपितले कसुर गरेको ठहर गर्दै ७ वर्ष ६ महिना २४ दिन कैद सजाय र दश हजार रुपियाँ जरिबानाको फैसला गरेको थियो ।

उच्च अदालतको फैसलापछि लुकीछिपी बस्दै आएका कसुरदारलाई विशेष सूचनाका आधारमा ०७७ असार ११ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दहालले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७४ मङ्सिर ३ गते गरिएको थियो ।


भरत खड्का