बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ मङ्सिर २२ गते

चितवनकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले यमुनामाई गाँउपालिकाको सरुअठा हेल्थ पोष्टका इञ्चार्ज ४५ वर्षीय अहेब सुधिरकुमार सिंहलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ ।

सिंहलाई जबरजस्ती करणी कसुर अन्तर्गत अनुसन्धान भइरहेको र पीडित महिलाको स्वास्थ्य परीक्षण पश्चात परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन कार्कीले जानकारी दिनुभएको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर १९ गते बलात्कार गरेको भन्दै पीडित महिलाले मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गौरमा मङ्सिर २० गते स्वास्थ्य परीक्षण गरिएको छ ।

मङ्सिर १८ गते चितवनबाट गोरखादेखि गौर रूटमा चल्ने सुवेदी मिनी डिलक्सबाट रौतहटको चन्द्रनिगाहापुर आएकी ती महिलालाई सोही गाडीका सहचालक अविनास कार्कीले गौर घुम्न जाने भन्दै सोही गाडीमा गौर ल्याएर छाडेको प्रहरीले जनाएको छ ।

मङ्सिर १९ गते केहीबेर गौर घुमेपश्चात साँझ घर फर्कन गौर बसपार्क आउने क्रममा पीडित महिलालाई लिफ्ट दिनेभन्दै आफ्नो मोेटरसाइकलमा चढाएर लगेका सिंहले करिब १५ किलोमिटर उत्तरमा रहेको सरुअठा हेल्थ पोष्टमा लगेर १९ गते राति चरम यातना दिँदै बलात्कार गरेको पीडित महिलाले बयान दिएको प्रहरीले जनाएको छ ।


कोपिला तिमल्सिना