बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ मङ्सिर १७ गते

३५ वर्षीया महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय सिद्धबाबा कृष्णदास गिरीलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक ४ गते बलात्कार गरेको आरोपमा पीडितले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय सुनसरीमा मङ्सिर ८ गते उजुरी दिएपछि प्रहरीले आरोपितलाई मङ्सिर १६ गते विराटनगर नर्सिङ अस्पतालको सघन कक्षबाट गिरफ्तार गरेको हो ।

मुटुको समस्या भएको भन्दै आरोपित अस्पतालको अति सघन कक्ष (आईसीयू) मा मङ्सिर १४ गतेदेखि बसेका आरोपितलाई जिल्ला अदालतले म्याद थपको अनुमति दिएपछि गिरफ्तार गरी मङ्सिर १६ गते नै अदालतमा हाजिर गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मा भण्डारीले बताउनुभयो ।

आरोपितलाई अस्पतालकै को १ च ४०७३ नम्बरको एम्बुलेन्समा अदालतमा हाजिर गराएर पुन अस्पतालको जिम्मा लगाएको डिएसपी शर्माले बताउनुभयो ।

सिद्घबाबाको उपचारमा संलग्न चिकित्सकहरूले मुटुमा समस्या देखिएकाले अस्पतालमा नै राख्नुपर्ने बताएका छन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ११ गते जिल्ला अस्पताल इनरूवा गरिएको प्रहरीले जनाएको छ ।

आरोपितका कृष्णदासका शिष्यश्याम पौडेलले कृष्णदास गुरूमाथि लागेको आरोप निराधार भएको बताउनु भएको छ ।

आरोपितलाई प्रहरीले यसअघि नै गिरफ्तारको प्रयास गरेपनि त्यसको विरोध भएपछि प्रहरी पछि हटेको र सुनसरी जिल्ला अदालतका न्यायाधीश धर्मराज पौडेलको इजलासले गिरफ्तार गरी अनुसन्धान गर्न चार दिनको म्याद दिएपपछि गिरफ्तार गरिएको डिएसपी शर्माको भनाइ छ ।


जयकृष्ण यादव