बलात्कार घटनाका आरोपितहरूविरुद्ध मुद्दा दर्ता

  ०७४ जेठ ७ गते

४० वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले जेठ ७ गते हनुमाननगर कंकालिनी नपा-१ भारदहका ३५ वर्षीय बमबम मुखिया, तिरहुत गापा-३ गोइठीका महेन्द्र महात्मान यादव, भारत घर भई हनुमाननगर कंकालिनी नपा-३ पोर्ताहा बस्ने २८ वर्षीय सुरज साह र ३० वर्षीय एक अपरिचितविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ ।

पीडितले जेठ ५ गते दिएको उजुरीका आधारमा जबरजस्ती करणी मुद्दा दर्ता गरी आरोपितहरूको खोजी कार्य भइरहेको डिएसपी यादवराज उप्रेतीले जानकारी दिए । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जेठ ५ गते स्वास्थ्य परीक्षण भएको सई हरि खड्काले बताए ।

पसलमा सुतेकी पीडितलाई आरोपितमध्ये यादव र साहले जेठ ५ गते बिहान बलात्कार गरेको र अन्यले हात खुट्टा समाएर सहयोग गरेको पीडितले बताइन् । घटनापछि फरार रहेका आरोपितहरूका आफन्तले पैसा लिएर मिल्न दवाव दिएको समेत उनले बताइन् ।

इलाका प्रशासन कार्यालय रहेको किराना पसलमा बम विष्फोट

बोदे बर्साइन नपा-१ स्थित इलाका प्रशासन कार्यालय रहेको घरमा ०७४ जेठ ६ गते राति शक्तिशाली बम विष्फोट भएको छ ।

रोहित साहको घरको तल्लो तलामा रहेको हरशिंकर साहको किराना पसलमा राति साढे एक बजे बम विष्फोट हुँदा पसलको झ्यालको सिसा र सोकेस दराजको सिसा फुटेको डिएसपी यादवराज उप्रेतीले जानकारी दिए । माथिल्लो तलामा रहेको इलाका प्रशासन कार्यालयमा कुनै क्षति नभएको डिएसपी उप्रेतीले बताए ।

कुकर बम विष्फोटको जिम्मेवारी जयकृष्ण गोइत नेतृत्वको अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

यसअघि राजविराज नपा-८ स्थित नापी कार्यालयमा ०७४ वैशाख २९ गते अपरान्ह चार बजे सोही समूहले बम विष्फोट गराएको थियो । आसन्न स्थानीय निर्वाचन नजिकिँदै जाँदा कार्यालय, विद्यालय, घर र पसलहरूमा बम विष्फोटका घटना हुन थालेपछि जिल्लावासी आतंकित बनेका छन् ।


मनोहरकुमार पोखरेल