बलात्कार घटनाका आरोपितसहित पाँच जना गिरफ्तार

  ०७६ भदौ ५ गते

६ वर्षीया बालिका बलात्कार घटनामा फरार रहेका कोहलपुर नगरपालिका-११ शान्तिनगरका ३८ वर्षीय गोविन्द दमाई सहित पाँच जनालाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ ।

आरोपित गोविन्द र घटना होस्टाइल गर्न पीडित पक्षलाई दबाब दिएको आरोपमा थप चार जनालाई सोधपुछका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर सन्तोष रोकायले बताए ।

गिरफ्तार पर्नेहरूमा कोहलपुर नगरपालिका-१२ का ६० वर्षीया नैनसरा बादी, ५० वर्षीया दुर्गा नेपाली, ४५ वर्षीय दलबहादुर दमाई र ५५ वर्षीय शितल चनारा रहेका छन् ।

पीडित बालिकालाई आरोपितले ०७६ असार २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असार २३ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २३ गते भेरी अस्पतालमा गरिएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आरोपित गोविन्द दमाईले पीडित बालिकाकी आमालाई आर्थिक प्रलोभन देखाएर मुद्दा मिलाउन दबाब दिँदै आएको पीडित पक्षको आरोप छ ।


स्मृति देवकोटा