बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

  ०७७ साउन १३ गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नपा–३ मंगलपुर बस्ने २८ वर्षीय कलाम राइनविरूद्ध पीडित युवतीले साउन १३ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिनु भएको छ ।

राति शौच गर्न घरबाट निस्केपछि आफुलाई धम्की दिएर बलात्कार गरेको पीडित बालिकाले बताउनु भएको छ ।

स्थानीय बासिन्दाहरूले आरोपित राइनलाई साउन १३ गते बिहान नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।

पीडित युवती र आरोपित राइनको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जनकपुरमा साउन १३ गते  गरिएको प्रहरी इन्स्पेक्टर नायकले बताउनु भयो ।

त्यसै गरी, १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गणेशमान चारनाथ नपा–४ बस्ने ३२ वर्षीय एैजुम मियाँविरूद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित बालिकाले साउन १२ गते उजुरी दिनु भएको छ ।

बालिकालाई धम्की दिएर बलात्कार गरेको भन्दै पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा आरोपितविरुद्ध साउन १२ गते दिएको उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।

पीडित बालिकाका अनुसार दुई छोराछोरीका बुवा रहेका मियाँले अविवाहित भन्दै विवाह गर्ने प्रलोभन देखाएर भेट्न बोलाएको बताउनु भयो । फेसबुकमार्फत आरोपितसँग चिनजान भएको पीडित बालिकाले दिएको उजुरीमा उल्लेख छ ।

चिनचान भएपछि आफूलाई विवाह गर्ने बहानामा पटक-पटक बलात्कार गरेको र पछिल्लो पटक साउन ६ गते बलात्कार गरेको पीडित बालिकाले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आरोपित एैजुम मियाँको खोजी कार्य भइरहेको जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ७ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।


दिपेन्द्रप्रसाद सिंह