बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७७ असार ३१ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा–१२ का २१ वर्षीय मनोहरकुमार रायविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा असार ३० गते उजुरी दिनु भएको छ ।

पीडित पक्षका अनुसार आरोपितले बालिकालाई विवाहको प्रलोभन देखाएर जेठ ३० गते बलात्कार गरी भारततर्फ लगेको र भारतबाट पीडित नेपाल प्रवेश गर्दा प्रहरीले क्वारेण्टाइनमा राखेको पीडितकी दिदीले इन्सेक सिरहा प्रतिनिधिलाई बताउनु भयो ।

पीसीआर परीक्षण गर्दा बहिनीमा पोजेटिभ देखिएको र महेन्द्र गेनाइ अस्पतालमा रहेको आइसोलेसनमा भर्ना भई उपचार पछि निको भएर मात्र असार ३० गते उजुरी दिइएको इन्सेक प्रतिनिधिलाई पीडितकी दिदीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठले आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार ३० गते भएको छ ।


दुर्गा परियार