बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

  ०७६ साउन ५ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितकी आमाले जितपुर सिमरा उपमहानगरपालिका–१६ टाँगीयाबस्तीका ३१ वर्षीय हिरामान मुक्तानविरूद्ध इलाका प्रहरी कार्यालय निजगढमा साउन ४ गते उजुरी दिएकी छन् ।

पीडित बालिकालाई आरोपितले साउन १ गते बेलुका पहिलो पटक बलात्कार गर्दा डर त्रासले कसैलाई नभनेको र साउन ३ गते बेलुका पुनः बलात्कार गरेपछि पीडित बालिकाले घटनाबारे आमालाई बताएपछि घटना सार्वजनिक भएको हो ।

इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर बिक्रम लामाले साउन ४ गते आरोपित मुक्तानलाई गिरफ्तार गरेको बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चन्द्रपुर अस्पतालमा साउन ४ गते गरिएको प्रहरीले जनाएको छ ।


भोलानाथ पौडेल