बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता 

  ०७५ पुस २१ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भैरबी गाउँपालिका–५ डाँगरगाउँका २२ वर्षीय बीरेन्द्र शाहीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस २० गते उजुरी दर्ता गरेका छन् ।

गाउँका व्यक्तिले मेलमिलाप गराउन गरेको आग्रह आफूहरूले अस्वीकार गरेपछि आरोपित फरार भएका पीडित पक्षको भनाई छ ।

पीडित बालिकालाई आरोपितले पुस १९ गते बलात्कार गरेको पीडित पक्षको आरोप रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले बताए ।

पीडित बालिकाको स्वस्थ्य परीक्षण दुल्लू अस्पतालमा पुस १९ गते नै गरिएको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९ को उपदफा (३)को (घ) मा १६ देखि १८ वर्ष उमेर समूहका महिला वा बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई १० देखि १२ वर्ष कैद हुने कानुनी व्यवस्था छ ।

सो ऐनको दफा २१९ को उपदफा (१)ले १८ वर्ष मुनिका कुनै पनि बालिकालाई मञ्जूरी लिई गरिएको करणीलाई पनि बलात्कार मानिने उल्लेख छ । पछिल्लो अध्यावधिक कानुनहरुमा १८ वर्ष मुनिका सबैलाई बालबालिका मानिएको छ ।


अमर सुनार