बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

  ०७५ मङ्सिर ६ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा छिपहरमाई गाउँपालिका-१ मिर्जापुरका ३२ वर्षीय राजकुमार यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते उजुरी दर्ता भएको छ ।

मङ्सिर ४ गते दिउँसो आरोपितले महिला घरमा एक्लै भएको अवस्थामा उनको घरमा गएर मुख थुनेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । पीडित पक्षले मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते नै वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आरोपित यादव भने फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पीडित महिलाको जेठानी विरामी भएकोले उपचारका लागि उनलाई अस्पताल लगिएकोले पीडित महिला घरमा एक्लै थिइन् । उनको पति भने काम गर्नका लागि आफनो खेतमा गएका थिए ।


केसी लामिछाने