बलात्कार घटनाका आरोपितलाई १८ वर्ष कैद फैसला

  ०७७ असार १६ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा रत्ननगर नगरपालिका-१३ का २७ वर्षीय अजय कट्टेललाई जिल्ला अदालत चितवनले १८ वर्ष कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले असार १६ गते कट्टेललाई १८ वर्ष कैद, १ लाख रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ जम्मा गर्नुपर्ने भनी फैसला गरेको श्रेष्तेदार रुद्रमणि गिरीले इन्सेक जिल्ला प्रतिनिधिलाई फोनमा बताउनु भयो ।

कट्टेलले ०७६ मङ्सिर २६ गते ट्युसन पढाउने क्रममा बलात्कार गरेको भन्दै पीडितकी आमाले २७ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिनुभएको थियो । मङ्सिर २७ गते नै आरोपितलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

चितवन अदालतको ०७६ पुस ११ गतेको आदेशले आरोपित कट्टेल पूर्पक्षका लागि थुनामा गएका थिए । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते भरतपुर अस्पतालमा गरिएको थियो ।


दिपेन्द्र अधिकारी