बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

  ०७७ असोज १९ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ पाङताङ घर भएका सूर्य श्रेष्ठलाई प्रहरीले असोज १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई असोज १६ गते बिहान ११ बजे रत्नपार्कबाट भक्तपुर आउने बसमा एक अपरिचित व्यक्तिले पानीमा बेहोस हुने औषधि खुवाएर सूर्यविनायक ल्याई नम्बर नखुलेको पार्किङ गरिराखेको बसमा पटक/पटक बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

त्यसपछि ती व्यक्तिले असोज १७ गते १० बजेपछि बा.३ ख. २६१२ नम्बरको बसका चालक खड्का र सहचालक श्रेष्ठलाई फोन गरी बालिका जिम्मा लगाएको र उनीहरूले चाँगुनारायण नगरपालिका–८ तवियाखुसीस्थित खोला किनारामा बस रोकेर सोही बस भित्र राति १० बजेसम्म  पटक/पटक सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले बताउनु भयो ।

स्थानीयले प्रहरीको कन्ट्रोल रूममा बसभित्र शङ्कास्पद गतिविधि भएको खबर दिएपछि प्रहरी घटनास्थल पुगेर दुई जनालाई गिरफ्तार गरी पीडित बालिकाको उद्धार गरेको एसपी थापाले जानकारी दिनुभयो ।

पीडित बालिकाले आरोपितहरूविरुद्ध असोज १८ गते उजुरी दिएको र अपरिचित भनिने फरार एक जनाको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले असोज १८ गते भक्तपुर जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण काठमाडौँ मेडिकल कलेज दुवाकोट भक्तपुरमा असोज १८ गते गरिएको छ ।


रमेश गिरी