बलात्कार गरेको ठहर गर्दै ६ वर्षकैदको फैसला 

  ०७३ भदौ १४ गते

हाडनाता भित्रको १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै २७ वर्षीय एक युवकलाई जिल्ला अदालत रामेछापले भदौ १३ गते ६ वर्षको जेल सजायको फैसला सुनाएको छ ।

न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजालसले सो फैसला सुनाएको हो । पीडकबाट बालिकाको नाममा ५० हजार रुपियाँ भराउने फैसलासमेत अदालतले गरेको छ ।

फैसला अनुसार बलात्कार गरेको अभियोगमा ५ वर्ष र हाडनाताभित्रको भएकोले थप १ वर्षगरी ६ वर्षजेल सजाय सुनाइएको हो ।

पीडित बालिकालाई ०७२ चैत १९ गते बलात्कार गरेको अभियोगमा चैत २४ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७२ चैत २२ गते ठोसे स्वास्थ्य चौकीमा गरिएको थियो । आरोपितलाई प्रहरीले ०७२ चैत २२ गते ठोसेबाट गिरफ्तार गरेको थियो ।


नवराज पथिक