बलात्कार गरेको ठहरमा २२ वर्षकैदको फैसला

  ०७३ कात्तिक १० गते

१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका तीन जनालाई जिल्ला अदालतले कात्तिक ९ गते दोषी ठहर गर्दै २२ वर्षसम्मको कैद र क्षतिपूर्तिवापत ७० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

न्यायाधीश राजकुमार कोइरालाको इजालासले तीन जनाविरुद्ध फरक फरक कैद र क्षतिपूर्तिको फैसला सुनाएको हो । अदालतले घटनाका मुख्य दोषी पीडित बालिकाका ४० वर्षीय बावुलाई २२ वर्षकैद र ५० हजार रुपियाँ जरिबाना, २१ वर्षीय मामालाई ११ वर्षकैद र १० हजार रुपियाँ जरिबाना र १८ वर्षीय राजकुमार राईलाई ८ वर्षकैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

पीडित बालिकाको बुवाको हकमा अदालतले मुलुकी ऐन जबरजस्ति करणीको महल ३.२ बमोजिम १२ वर्षकैद र हाडनाता करणी महल बमोजिम थप १० वर्षगरी २२ वर्षर क्षतिपूर्तिवापत ५० हजार रुपियाँ जरिबानाको फैसला सुनाइएको हो ।

त्यसैगरी मामाको हकमा सोही महल बमोजिम ८ वर्षकैद र हाडनाता करणी अन्तर्गत थप ३ वर्षगरी ११ वर्षकैद र १० हजार रुपियाँ जरिबानाको फैसला सुनाइएको अदालतका स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले जानकारी दिए ।

फैसला सुनाइएका तीनै जनाको आर्थिक अवस्था कमजोर भएकाले क्षतिपूर्तिको हकमा भने महिला तथा बालबालिका कार्यालयबाट भराउन आदेश दिइएको मगरले बताए ।

दोषी ठहरियकाहरूले ०७२ माघ २९ गतेदेखि पीडित बालिकाको आमा विदेश गएको समयमा नियमित रूपमा बलात्कार गर्दै आएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर भिमप्रसाद सिलवालले बताए ।

पीडितको वयानका आधारमा उनीहरुविरुद्ध आमाले ०७३ वैशाख १७ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएकी थिइन् । निवेदन लगत्तै पीडित बालिकाका बावु र राजकुमारलाई घरबाटै सोही दिन र मामालाई जेठ २८ गते गिरफ्तार गरिएको इन्स्पेक्टर सिलवालले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १७ गते जिल्ला अस्पतालमा गरिएको थियो ।


भरत खड्का