बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

  ०७६ असार २२ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सानीभेरी गाउँपालिका–५ का १८ वर्षीय धनसिंह बाँठामगर र सोही ठाउँका १८ वर्षीय विशाल केसीलाई रूकुम जिल्ला अदालतले असार २२ गते जनही ६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीस आत्मदेव जोशीको इजलासले उक्त जेल सजायका साथै जनही २५ हजार रुपियाँ क्षतिपूर्तिको सजाय तोकेको अदालतका श्रेष्तेदार शिवहरि सुवेदीले जानकारी दिए ।

पीडित बालिकालाई बाँठामगरले ०७४ पुस १० गते र केसीले ०७४ पुस ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले दुवैजना विरूद्ध ०७५ जेठ १६ गते प्रहरीमा उजुरी दिएको थियो ।

आरोपितद्वयलाई प्रहरीले ०७५ जेठ १७ गते गिरफ्तार गरी ०७५ असार ५ गते रूकुम जिल्ला अदालतमा मुद्दा दर्ता गरिएकोमा असार ६ गते अदालतले दुवैजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।


मनिषा केसी