बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

  ०७६ वैशाख ५ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका रसुवा उत्तरगाया गाउँपालिका–३ ठूलोगाउँ घर भई तारकेश्वर नपा–८, लामाबगर काठमाडौँ बस्दै आएका २६ वर्षीय हर्क गुरुङलाई कसुरदार ठहर गर्दै जिल्ला अदालतले ६ वर्ष कैद सजायको फैसला गरेको छ ।

वैशाख ४ गते न्यायाधीश ऋषिकेश वाग्लेले इजलासले गरेको फैसलामा पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि उल्लेख गरिएको छ ।

पीडित बालिकालाई गुरुङले ०७३ पुस ५ गते नुवाकोटको ककनीको एक होटेलमा ल्याई बलत्कार गरेको आरोपमा पीडित बालिकाले पुस ११ गते महानगरीय प्रहरी प्रभाग बालाजुमा उजुरी दिइकी थिइन् ।

पीडित बालिकाको उजुरीपछि प्रहरीले आरोपितलाई पुस ११ गते नै तारकेश्वर नपा–८, लामाबगर काठमाडौँबाट गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रसूति गृह थापाथलीमा ०७३ पुस ११ गते गरिएको थियो । महानगरीय प्रहरी प्रभाग बालाजुले घटनास्थल नुवाकोट भएकोले थप अनुसन्धानको लागि ०७३ पुस १२ गते नुवाकोट प्रहरीलाई आरोपित सहित कागजात जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएको थियो ।


नवदीप श्रेष्ठ