बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

  ०७५ असोज २ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले लहान नपा-१९ का १८ वर्षीय सुमन भनिने सुमन्तकुमार मण्डललाई असोज १ गते ६ वर्षकैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आलेले बताए । आरोपितबाट पीडितलाई २५ हजार रुपियाँ क्षतीपूर्ती भराउने समेत फैसला भएको सरकारी वकिल आलेले बताए ।

पीडित बालिकालाई ०७३ माघ ३ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय, लहानमा माघ ४ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा माघ ४ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई ५ महिनापछि असार २ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतले असार २९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।


दुर्गा परियार