बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

  ०७७ फागुन १४ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले निरालेलाई सो फैसला सुनाएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।

पैदल घर फर्किरहेकी बालिकालाई आरोपितले नास्ता र नशालु पदार्थ मिसाइएको फ्रुटी खान दिएर बेहोस बनाई ०७६ भदौ १२ गते राति राजविराज नपा–४ स्थित बैष्णव काली मन्दिर नजिकको कल्टु दास पोखरी किनारमा लगेर बलात्कार गरेको पीडित पक्षको आरोप थियो ।

आरोपितले भदौ १२ गते राति १२ बजे घर नजिकै ल्याएर छाडेपछि अर्धचेत अवस्थामा बालिकालाई घर अगाडि फेला पारेको भन्दै पीडितकी आमाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७६ भदौ १३ गते उजुरी दिएकी थिइन् ।

विक्षिप्त अवस्थामा रहेकी बालिकालाई स्वास्थ्य उपचार एवम् मनोविमर्शका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

सोही अस्पतालमा ०७६ भदौ १३ गते पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितलाई ०७६ भदौ १३ गते दिउँसो गिरफ्तार गरी भदौ १५ गते बलात्कारको उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतमा ०७६ असोज ५ गते आरोपितलाई पेश गरेकोमा अदालतको आदेशमा निराले ०७६ असोज ६ गतेदेखि राजविराज कारागारमा थुनामा रहेको प्रहरीले जनायो ।


मनोहरकुमार पोखरेल