बलात्कार गरेको कसुरमा १६ वर्षकैदको फैसला

  ०७६ असार २६ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत नवलपुरले कावासोती नपा-३ बस्ने ५३ वर्षीय मोक्तान काइला भनिने सोमबहादुर तामाङलाई १६ वर्षकैद र ७५ हजार रुपियाँ जरिवानाको फैसला गरेको छ ।

न्यायाधीश विष्णुप्रसाद उपाध्यायको असार २५ गते बसेको इजलासले सो फैसला गरेको नवलपुर जिल्ला अदालतका सूचना अधिकृत दुर्गाबहादुर कार्कीले जानकारी दिए ।

पीडित बालिकालाई तामाङले ०७५ असोज २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७५ कात्तिक २७ गते भरतपुर जिल्ला अस्पताल चितवनमा भएको थियो । पीडित पक्षको उजुरीपछि फरार तामाङलाई प्रहरीले ०७५ मङ्सिर १ गते गिरफ्तार गरी अदालत पेश गरेको थियो ।


तिर्थराज डुम्रे