बलात्कार गरेको कसुरमा १५ वर्ष कैदको फैसला

  ०७६ असोज २९ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ल अदालतले रामपुर नगरपालिका–३ रामपुरका १९ वर्षीय प्रिन्स ठाडा मगरलाई असोज २८ गते १५ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश खड्कबहादुर केसीको इजलासले उक्त फैसला सुनाएको अदालतका स्रेस्तेदार कृष्णमुरारी सिग्देलले बताए । पीडित बालिकालाई आरोपितले ०७५ फागुन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २८ गते प्रहरीमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई फागुन ३० गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २८ गते जिल्ला अस्पताल पाल्पामा गरिएको थियो ।


यज्ञमूर्ति तिमिल्सिना