बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला

  ०७४ माघ ९ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली गाउँपालिका-२ का ६२ वर्षीय विर्खध्वज श्रेष्ठलाई जिल्ला अदालतले माघ ९ गते १४ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले श्रेष्ठविरूद्ध मुलुकी ऐन जबरजस्ती करणी महलको ३ (१) बमोजिम १० वर्ष कैद र हाडनाता करणी २ (१) बमोजिम थप चार वर्ष कैद फैसला सुनाएको हो ।

यस्तै पीडित बालिकाको नाममा २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

पीडित बालिकालाई आरोपित श्रेष्ठले ०७४ वैशाख १२ गते बलात्कार गरेको भन्दै बालिकाकी आमाले वैशाख १५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । श्रेष्ठलाई प्रहरीले वैशाख २० गते गिरफ्तार गरेको थियो ।


कोकिला ढकाल