बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला

  ०७३ चैत ३ गते

एक सुस्त मनस्थिति भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा जिल्ला बल्हागोठ गाविस-२ घर भई हाल बडहरामाल-२ बस्ने २७ वर्षीय अनवारुल भन्ने मिजारुल शेखलाई जिल्ला अदालतले १३ वर्षकैद तथा २० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

न्यायाधीश तिर्थराज केसीको इजलासले चैत २ गते सो फैसला गरेको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले बताए । बालिकालाई बलात्कार गरेको आरोपमा आठ वर्ष तथा सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा थप पाँच वर्षगरी १३ वर्षकैदको फैसला भएको दनुवारले बताए ।

पीडित बालिकालाई आरोपितलाई असोज १५ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडितको परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज १५ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज १५ गते भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितलाई असोज १५ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित कार्तिक १० गतेदेखि पुर्पक्षको लागि थुनामा रहेका थिए ।


दुर्गा परियार