बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

  ०७७ असोज ९ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कटारी नगरपालिका–७ का १८ वर्षीय अनिलकुमार दनुवारलाई असोज ८ गते १३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश दीपक खनालको  इजलासले कसुर ठहर गर्दै कैद सजायसँगै ५ हजार रुपियाँ जरिबाना र १५ हजार रुपियाँ पीडित पक्षले पाउने गरी कसुरदारबाट असुलउपर गर्न आदेश दिएको तहसिलदार राजकुमार आचार्यले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

अदालतले अपराध पीडित संरक्षण कोष २०७५ को दफा ७१ वमोजिम प्रतिवादीबाट पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ समेत जम्मा गर्न आदेश भएको तहसिलदार राजकुमार आचार्यले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ जेठ १८ गते प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाे थियाे ।

आरोपितलाई प्रहरीले जेठ २० गते गिरफ्तार गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतका असार १० गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २० गते गरिएको थियो ।


भरत खड्का