बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

  ०७७ भदौ ३१ गते

११ वर्षीया बालिका बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रौतामाई गाउँपालिका–३ मझौका २४ वर्षीय भविन्द्र राईलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश मनोज केसीको भदौ ३० गतेको इजलासले आरोपितले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट पाँच हजार रुपिया क्षतिपूर्ति भराउन आदेश भएको अदालतका तहसिलदार राजकुमार आचार्यले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितले ०७६ कात्तिक ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको ०७६ मङ्सिर ११ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १४ गते गरिएको थियो ।


भरत खड्का