बलात्कार गरेको कसुरमा १२ वर्ष १ महिना कैदको फैसला

  ०७६ माघ २३ गते

१५ वर्षीया बालिकालाई ०७५ कात्तिक २५ गते बलात्कार गरेको आरोपमा नुवाकोट ककनी गाउँपालिका–१ का ४५ वर्षीय पञ्च बलामीलाई जिल्ला अदालत म्याग्दीले माघ २१ गते १२ वर्ष १ महिना कैदको फैसला गरेको छ ।

पीडित बालिकालाई आरोपितले बेनीको एक होटलमा लगेर बलात्कार गरेको भन्दै पीडितका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौँमा ०७६ वैशाख ८ गते उजुरी दिएका थिए ।

घटनास्थल बेनी भएकाले उक्त घटनालाई काठमाडौँ प्रहरी परिसरले जिल्लाप्रहरी कार्यालय म्याग्दीमा पठाएको थियोे ।

०७६ वैशाख ३० गते जिल्लाप्रहरी कार्यालय म्याग्दीले सरकारी वकिल मार्फत जिल्ला अदालतमा बलात्कार सम्बन्धी कसुरमा बलामीविरूद्ध मुद्दा दायर गरेको थियो ।

न्यायाधीश माधवेन्द्रराज रेग्मीको इजालसले बलामीको कैदसँगै पीडितबालिकालाई २ लाख रुपिया क्षतिपूर्ति भराउनु पर्ने समेत फैसला गरेको जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार खिलप्रसाद बुर्लाकोटीले बताउनु भएको छ ।

मुलुकी अपराध संहिता–२०७४ को दफा २१९ उपदफा ३ (ग) बमोजिम १२ वर्ष १ महिना कैद फैसला गरिएको बुर्लाकोटीले जानकारी दिनुभएको छ  ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७६ वैशाख ९ गते वीर अस्पताल काठमाडौँमा गरिएको थियो ।

 


अमृत बास्कुने