बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

  ०७६ मङ्सिर २२ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नपा–१० नुवागाउँका २० वर्षीय कृष्ण बिकलाई जिल्ला अदालतले मङ्सिर २२ गते १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश देवकुमार गिरीको इजलासले कसुर ठहर गर्दै बलात्कार कसुरमा १२ वर्ष कैद भुक्तान हुने गरी फैसला सुनाएको हो ।

पीडित बालिकालाई बिकले गत वैशाख ८ गते राति ६ बजेको समयमा घरमा प्रवेश गरी बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ०७६ वैशाख १० गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा ०७६ वैशाख ९ गते गरिएको थियो ।
वैशाख ९ गते नै गिरफ्तारीमा परेका बिकलाई अदालतले गत जेठ ३ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।


दिनेशकुमार श्रेष्ठ