बलात्कारपछि हत्या प्रयास गरेको कसुरमा २० वर्ष कैदको फैसला

  ०७६ भदौ ३ गते

२१ वर्षीया महिलालाई गोदावरी नगरपालिका-२ गोदामचौरमा सामूहिक बलात्कार गरी हत्या प्रयास गरेको आरोपसम्बन्धी घटनामा उच्च अदालत पाटनले भदौ २ गते उक्त घटनाका आरोपितहरूलाई जनही २० वर्ष जेल सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतले आरोपितहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलाई सामूहिक बलात्कारमा १० वर्ष ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाएको थियो ।

पाटन उच्च अदालतका न्यायाधीसहरू रमेशबहादुर थापा र यज्ञराज भट्टको इजलासले ०७५ फागुन १७ गते जिल्ला अदालतका न्यायाधीश धनसिंह महराको इजलासले सामूहिक बलात्कारको घटनामा संलग्न रहेको कसुरमा उक्त घटनाका तीनै जना आरोपितहरूलाई जनही १० वर्षजेल सजाय सुनाएको फैसलालाई सदर गरेको हो ।

आरोपितहरू माथि ०७४ मङ्सिर २ गते पीडित महिलालाई सामूहिक बलात्कारपछि ज्यान मार्ने उद्देश्यले टाउकोमा ढुङ्गा प्रहार गरी बेहोस बनाएर पीडित महिलाको साथमा भएको झोला, पैसा, गरगहनालगायतका सामग्री पनि चोरेको आरोप थियो ।

टाउकोमा ढुङ्गा प्रहारबाट घाइते भएकी पीडितको टाउकोमा ३० भन्दा बढी टाँका लगाउनु परेको र उनको हातको हड्डी पनि टुक्राटुक्रा परेको थियो । घटना भएको १६ महिनासम्म पनि पीडित महिलाको उपचार जारी छ ।


दीपकप्रसाद घिमिरे