बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

  ०७६ जेठ ३१ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सिरहा नपा–३ का २४ वर्षीय धर्मेन्द्र भनिने सुरेशकुमार ठाकुर शर्मालाई जिल्ला अदालतले जेठ ३० गते १० वर्ष कैद र १ लाख रुपियाँ क्षतीपुर्तिको फैसला गरेको छ ।

न्यायाधीश देवेन्द्र पौडेलको इजलासले सो फैसला गरेको रजिष्ट्रार नरेन्द्रकुमार श्रेष्ठले बताए । पीडित बालिकालाई आरोपितले ०७४ माघ २५ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा माघ २६ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ २५ गते भएको थियो भने थप उपचार लहानस्थित सप्तऋषी अस्पतालमा गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाले घटना पछि फरार रहेका आरोपितलाई ०७५ साउन २८ गते गिरफ्तार गरी जिल्ला अदालतमा बुझाएको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित साउन २८ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।


दुर्गा परियार